काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको भन्दै प्रश्न उठाउनु भएको छ ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने बताउनु भयो ।
पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको सांसद सुवालले सुनाउनु भयो । ‘सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक भयो । मन्त्री पद भ्रष्टाचार गर्ने पद हो भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको छ । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन ? ,’ उहाँले भन्नु भयो ।