काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा अदालतले थप दुई व्यक्तिको बकपत्र लिन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको हो।
लामिछानेविरुद्धको मुद्दामा आज न्यायाधीश शंकरराज बरालको इजलासमा सुनुवाइ भएको थियो। आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गर्नु भएको थियो। यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गर्नु भएको हो। न्यायाधीश बरालले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गर्नु भएको छ ।
यसअघि साहब आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उहाँलाई पनि अदालतमा उपस्थित गराउन भन्नु भएको छ। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उहाँको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको हो।