काठमाडौं। जब जनताका त्रिनेत्र खुल्छन् तब सत्ताले पतनको ताण्डव देख्छ। सरकार अहिले निर्मम भएको छ। जेनजीहरुले भ्रष्टाचार र जनताको मुख सिलाउन,बन्द गर भन्दै आन्दोलन गर्दा सरकारले लाठी चार्ज र कलिला जेनजी आन्दोलनकारीहरू माथि बुट बजारेको छ।
देशको सुनौलो भविष्य खोज्न सडकमा आउन बाध्य बनेका जेनजीमाथि सरकारले अश्रु ग्याँस प्रहार गरेको छ। ओली नेतृत्वको सरकारले अहिले तानाशाही प्रवृत्ति देखाएर स्वतन्त्र र सार्वभौम जनताको मुखमा टाँका मार्ने रणनीतिले फेसबुक लगायतका सामाजिक सञ्जालमा रोक लगाएपछि अहिले माइतीघरदेखि संसद भवन नै घेराउ गर्ने गरी जेनजी पुस्ताका आन्दोलनकारीहरू सडकमा उत्रेका छन् ।
आन्दोलनकै क्रममा जेनजीको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। आन्दोलनकारी जेनजीहरूले सुरक्षा घेरा तोडेर संसद भवन नै छिर्न खोजेपछि झडप भएको हो। प्रहरीले प्रदर्शनकारीलाई रोक्न बल प्रयोग गरेको छ। प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस हानेको हो। माइतीघरबाट आएको प्रदर्शन बानेश्वरमा केही बेर रोकिएको थियो। तर, प्रहरीको ब्यारिकेड तोड्दै प्रदर्शनकारी संसद भवन अगाडि पुगेका छन्।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। उनीहरूले संसद भवन बाहिरको पर्खाल फुटाइरहेका छन्। माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेर अहिले नै संसद भवन कब्जा गर्ने जस्तो स्थितिको निर्माण भएको छ। प्रहरीको ब्यारिकेड तोड्दै जुलुस अगाडि बढेपछि प्रदर्शनकारी जेनजी र प्रहरीको हाथापाई भएको छ। संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरूलाई प्रहरीले लाठी प्रहार गरे। त्यसका बाबजुद पनि भिड रोकिएको छैन। अझैपनि प्रहरीले संसद भवन अगाडि आएका प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको छ।
पानीको फोहरा हान्ने गाडीलाई संसद भवन अगाडि राखेको छ। युवाहरूले प्रहरीलाई पानीको बोतल प्रहार गरेका छन्। अहिले जेनजीहरूले काठमाडौका मेयर बालेन शाहको समर्थन र प्रधानमन्त्री ओलीको विरुद्धमा नाराबाजी गरिरहेका छन्। यही आन्दोलनले सरकार नै धरमर धरमर भएको विश्लेषकहरू दाबी गरिरहेका छन्। ओली सरकारले यो आन्दोलनको सम्बोधन कलिला जेनजी पुस्तामाथि लाठी चार्ज, पानीको फोहोरा, र अश्रु ग्याँस हानेर गर्न नहुने विज्ञहरू बताउँछन्।