कास्की । साबिक विजेता कर्णाली यश्विसले दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उद्घाटन खेलमा जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा कर्णालीले घरेलु टिम पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । कर्णालीले पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१४ को जित निकाल्यो ।
ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल जारी छ । ललितपुर साबिकको उपविजेता हो । मधेश प्रथम संस्करणको सबैभन्दा कमजोर टिम हो । लिगमा कर्णाली यश्विस, पोखरा निन्जाज, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लाभाज गरी ६ टिम सहभागी छन् ।