काठमाडौँ । राज्यले ४० अर्ब खर्चेर बनाएको देशको दोस्रो अन्तर्राष्ट्रिय एयरपोर्ट पूर्ण क्षमतामा चलाउन चासो नदिएको भन्दै निजी क्षेत्र धर्नामा उत्रिएको छ । मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले आफूहरूको आवाज नसुने कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन ।
सञ्चालनमा आएको महिनौँ दिन बित्दासमेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिन मात्रै एक-एक उडान हुँदै आएको छ । गत पुषमा मौसमको कारण देखाउँदै अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा रोकिएका थिए । विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने विरोधकर्ताले बताएका छन् । दर्जन भन्दा बढी निजी व्यावसायिक संस्थाहरूको ऐक्यबद्धता रहेको विरोध कार्यक्रममा उनिहरु दबाबस्वरूप शान्तिपूर्ण धर्नामा बसेका छन् ।