विराटनगर । सुनसरीको झुम्का कारागारमा ज्वरोको कारण ३५३ जना कैदीबन्दी बिरामी परेका छन् ।
त्यसमध्ये एक जना कैदीबन्दीको बुधबार श्वास प्रश्वासको समस्याको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर ८ का जलेश्वर यादव रहेका छन् । उनको इनरुवा अस्पतालमा उपचारको क्रममै मृत्यु भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्बेन्द्रकुमार मिश्रले जानकारी दिए ।
सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार ६ दिनयता झुम्का कारागारका ४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले यादवको मृत्युपछि त्यस्तै लक्षण देखिएका ३५३ जनाको स्वास्थ्य जाँच गरेको बताए । त्यसमध्ये १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।