काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थी विदेश जाने होड चलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार गएको साउनदेखि हालसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।
वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार २०७८ को वैशाखमा एक हजार ६ सय ९६, जेठमा ४ सय ५६, असारमा तीन हजार १ सय ९, साउनमा ५ हजार तीन सय ४१, भदौमा ५ हजार ८ सय ६०, असोजमा ४ हजार ९ सय ६३, कात्तिकमा ३ हजार सात सय ५७, मंसिरमा ५ हजार ६ सय ९५, पुसमा ७ हजार ८५, माघमा ९ हजार ५ सय १३, फागुनमा १३ हजार ९ सय ७२ र चैतमा १६ हजार ३ सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए । यस वर्षको वैशाखमा १५ हजार ७ सय ७१ र जेठमा १४ हजार ६ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् ।
अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको संख्या बढी छ । हाल औसतमा दैनिक ६ सयको सङ्ख्यामा वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन आउने गरेको शाखाले जनाएको छ । अनलाइनबाट आवेदन दिने, रुजु गर्ने काम हुन थाले पछि सेवा प्रवाहमा सहज सहजता आएको देखिन्छ ।