काठमाडौं । नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतनासँगै सरकारले लगानी बढाउनुपर्नेे विज्ञहरुले जोड दिएका छन्। बिहीबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल एनसिडी अलाइन्स संयुक्त आयोजना भएको नसर्ने रोग सम्बन्धी मिडिया एडभोकेसी कार्यक्रममा उहाँहरुले सरकारले जनचेतनासहित लगानी बढाउनुपर्नेमा जोड दिनु भएको हो ।
कार्यक्रममा नेपाल एनसिडी अलाइन्सका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले नसर्ने रोग महामारीको रुपमा बढिरहेको बताउनु भयो । उहाँले नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भयो । नसर्ने रोगकै कारण हुने मृत्युमा तिब्र रुपमा बढोत्तरी भएको, उपचारमा रहेका बिरामीहरुको आर्थिक भार बढ्दै गएको उहाँले जानकारी दिनु भयो । “नसर्ने रोगको रोकथामका लागि गर्नुपर्ने कामहरु धेरै छन्। यसमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ। मिडियाले जनचेतना र वकालत गर्न आवश्यक छ।” उहाँले भन्नु भयो ।
सरकारले मुटु, क्यान्सर, मधुमेह वा श्वासप्रश्वास सम्वन्धी दीर्घ रोगहरुबाट हुने समग्र अल्पायु मृत्युदरमा सन् २०२५ सम्ममा २५ प्रतिशतले र सन् २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ।