काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घरेलु फिल्मको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नु भएको छ । फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको उहाँले बताउनु भयो । व्यापारमा मात्र केन्द्रित हुँदा गुणस्तर खस्किएको उहाँको भनाइ छ । नेपाली चलचित्र क्षेत्रका संघसंस्थाका निर्वाचित कार्यसमितिलाई बधाई दिन निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले फिल्मको गुणस्तर वृद्धिमा जोड दिनु भएको हो । ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रवाहको माध्यम पनि हो । चलचित्र निर्माण गर्दा विषयवस्तु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ,’ उहाँले भन्नु भयो ।
उहाँले फेरी भन्नु भयो, ‘चलचित्र क्षेत्रको विकासको लागि हामीले के कस्तो भूमिका निर्वाह गरिरहेका छौं भन्ने समीक्षा गर्न आवश्यक छ । नीतिगत रूपमा कहाँ–कहाँ समस्या रहेका छन् र सरकारले कहाँ–कहाँ सहयोग गर्नुपर्ने हो त्यो विषय चर्चा र समीक्षा गरौंला ।’ सरकारको नीति कार्यक्रममा तथा नयाँ बजेटमा केही नयाँ काम गर्न सक्नुपर्ने उहाँको भनाइ छ । फिल्म क्षेत्रमा महिला टिक्न सहज नभएको टिप्पणी गर्दै उहाँले त्यसको प्रवर्द्धनमा पनि जोड दिने बताउनु भएको छ ।