काठमाडौँ । विगत २ हप्तादेखि शृंखलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । बिहीवार बिहानै आएको आँधीमा परी ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ । देशका ८ राज्यमा आएका दर्जनौं आँधीका कारण हालसम्म ६३ जनाको ज्यान गएको छ ।
बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन् भने विद्युत् आपूर्तिमा अवरोध भएको छ । प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको छ । राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताउनु भएको छ । उहाँले राष्ट्रपति जो बाइडेनबाट संघीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिनु भएको छ ।