काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गानको सुरुमा रहेको धुन हटाउन सरकारसँग माग गर्नु भएको छ । बुधबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सयौं थुँगा फूलका हामी सुरु हुनुअघिको धुन आवश्यक नरहेको तर्क गर्नु भएको हो ।
अखिल नेपाल पिछडा वर्ग महासंघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउन पनि जरुरी नरहेको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘राष्ट्रिय गान गाउँदा छातीमा हात लगाउने हाम्रो प्रचलन होइन र छैन। म एउटा कुरा सरकारलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय गान अगाडि जुन प्याँप्याँ धुन आउँछ नि सयौं थुँगा फूलका हामी भन्दा अगाडिको धुन, त्यो राष्ट्र गानबाट हटाउनुपर्छ। त्यो राष्ट्रिय गानभित्र पर्दैन र राष्ट्रिय धुन पनि होइन। अगाडि बजाइने बाजा राष्ट्रिय गानमा पर्दैन। म सरकारको ध्यानाकर्षण गराउँछु।’