काठमाडौँ । चितवन- २ को उपनिर्वाचनमा रवि लामिछानेविरूद्ध उजुरी परेका चारमध्ये युवराज पौडेल ‘सफल’को उजुरी नलाग्ने भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुन: नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिनु भएको थियो । लामिछाने विरूद्ध पौडेलबाहेक चितवन-२ मा नै उम्मेदवारी दिनु भएका अरू तीन जनाले पनि उजुरी दिनु भएको छ।
स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिनु भएको हो । उहाँहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गर्नु भएको छ । तीन उम्मेदवारको उजुरी लाग्ने भए पनि पौडेलले दिएको उजुरी नलाग्ने भएको हो ।