काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोहेरो झमेलामा पर्नु भएको छ । उहाँ विरुद्ध सर्वोच्च अदालतमा पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा रहेको छ भने चितवन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीबारे चार वटा उजुरी परेका छन् । लामिछानेले चैत २० मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउनु भएको छ ।
लामिछानेविरुद्ध मंगलबार परेका ४ वटा उजुरीलाई बुधबार टुंग्याइने भएको छ । ३ वटा उजुरी उम्मेदवार र उहाँका प्रतिनिधिले गर्नु भएको हो भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेलले इमेलमार्फत दर्ता गराउनु भएको हो । यसैगरी युवराज सफलले दायर गरेको मुद्दामाथि सर्वोच्चमा बुधबार आज सुनुवाइ हुँदैछ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेशी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधवार आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाई हुन लागेको छ।