काठमाडौँ । राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइमा बहसको अनुमति माग्दै रास्वपा सभापति रवि लामिछानेका वकिलहरू सर्वोच्च अदालत पुगेका छन् । आफूहरू सरोकारवाला भएकाले बहसमा सहभागी हुन पाउनुपर्ने माग राख्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलको नेतृत्वमा रविका तर्फबाट इजलाससमक्ष निवेदन परेको छ ।
निवेदनमा पोखरेलका अलवा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतम तथा अधिवक्ताहरू राजेन्द्रप्रसाद सेढाइँ, रिमा शर्मा, मोहम्मद आफ्ताब आलम, सुविज्ञ पन्त र सरोज सिलवालको हस्ताक्षर छ । राहदानी दुरुपयोगसम्बन्धी अभियोगमा रविविरुद्ध मुद्दा नचलाउने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयलाई खारेज गरिनु पर्ने मागसहित अधिवक्ता युवराज सफलले सोमवार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।उक्त रिट न्यायाधीश अनिल सिन्हाको इजलासमा पेशी चढेको छ । खाजा ब्रेकपछि उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदैछ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरू शिवकुमार यादव, कीर्तिनाथ शर्मा पौडेल, राधिका खतिवडा, अर्जुन थापा, नितिका ढुंगाना, श्यामकृष्ण मास्के र केवाङ हाङ राईले बहस गर्दै हुनुहुन्छ ।