काठमाडौँ । गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष नेपालमा डेंगुको प्रकोप फैलिएपछि हालसम्म डेंगुको केश शून्य भएको छैन । सामान्यतया डेंगुको सङ्क्रमण दर जेठ महिनाबाट बढ्ने गर्छ । तर माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भएको रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहाल बताउँनुहुन्छ ।
साढे दुई महिनाको अवधिमा ४५ जिल्लाको ११५ वटा पलिकामा डेंगुको केश देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा ५० जनामा सङ्क्रमित पुष्टि भएको छ । गर्मी मौसम सुरु भएसँगै डेंगुका केश बढ्न सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । डेंगु सङ्क्रमण हुँदा शरीरमा विभिन्न किसिम लक्षण देखापर्ने गर्छ । जस्तै अधिक ज्वरो आउने, टाउको, आँखा, मांसपेशी र जोर्नीलगायत पुरै शरीर दुख्ने, छालामा रातो दाग आउने, बान्ता हुने लगायतका लक्षणहरू लगातार ४ देखि ६ दिनसम्म देखिन सक्छ । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था जानुपर्छ ।