काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले विभिन्न ठाउँमा प्रयोग हुने सामान स्वदेशी बस्तुमात्रै प्रयोग हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले शीतल निवास, सिंहदरबार, संसद् र बालुवाटारमा स्वदेशी बस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन माग गर्नु भएको हो । कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी बस्तु हुनुपर्नेमा सांसद डाँगीले जोड दिनु भएको छ ।
उक्त बैठकमा बोल्दै उहाँले भन्नु भयो ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ? ती कुराहरू अङ्कमा देखिने गरी किन लागू भएनन् ? समीक्षा गरी आङ्गिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ? कुर्सीका लागि जुन झगडा हुने गरेको छ । प्रधानमन्त्री सभामुखको कुर्सी, त्यो कुन देशबाट आयात भएको हो ? सभामुख महोदय, सिंहदरबार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ । यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’