काठमाडौं । भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ । आफ्नो पालामा अलराउन्डर क्रिकेटरको पहिचान बनाउनु भएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो ।आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ ।
सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उहाँलाई सबैभन्दा धेरै सम्झना गरिन्छ । पोर्ट अफ स्पेनमा भएको दोस्रो इनिङमा भारत ७ विकेटले विजयी भएको थियो । सो खेलमा दुरानीले १७ ओभरमा जम्मा २१ रन खर्चिनु भएको थियो
दुरानी भारतको गुजरातस्थित आफ्नो भाइको घरमा बस्दै आउनु भएको थियो । गत जनवरीमा उहाँको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो ।