काठमाडौं। काठमाडौं महानगरपालिकाका कार्यपालिका ४० जना सदस्यहरूले मेयर बालेन्द्र साहलाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
कार्यपालिका सदस्यहरूको सोमबार बसेको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । ४१ सदस्यीय कार्यपालिकामा मेयर साहबाहेक सबै उपस्थित थिए ।
कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ । यो बैठकमा रास्वपाबाट १६ नम्बर वडामा निर्वाचित रोजिना श्रेष्ठ पनि सहभागी भइन् । उनले पनि बैठकमा सहभागी भएर बालेनमाथि दबाब बढाउन भूमिका खेलेकी छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।