काठमाडौं। सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।
पतञ्जली प्रकरणलाई लिएर बिहीबार बसेको लेखा समिति बैठकलेअनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय तथा विभिन्न ठाउँमा सोधपुछ गरी प्रतिवेदन बनाइएको थियो। त्यसलाई थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको छ,’ सभापति पोखरेलले भने।
हालै अख्तियारले पतञ्जलीको जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको थियो।
काभ्रेमा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गालाई किनबेच गरेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ।
२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। तर पछि हदबन्दी भन्दा बढी गएर कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै अख्तियारले अनुसन्धान थालेको हो।
साथै सभापति पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा कसैको पनि अविश्वास नरहेको र अख्तियारमा थप अनुसन्धानका लागि पठाइसकेको जानकारी गराएका थिए।
                                                            
        
        
        
        
        
        
        
        
        
   
                           
                                                      
   
   
   
   
   
