काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयलाई लिएर माफी मागेका छन् ।
हालै सुरवीर र अर्का वरिष्ठ कलाकार रामचन्द्र अधिकारीले अभिनय गरेको एउटा क्रिस्चियन प्रचार गीतलाई लिएर विवाद उत्पन्न भएको थियो । यो गीतको भिडिओ धार्मिक विद्वेष फैलाउने खालको भएको भन्दै यसमा अभिनय गरेकाप्रति कतिपयले सुरवीर र रामचन्द्रमाथि गालीगलौज गरिरहेका थिए ।
मेरी बास्सैको सुटिङ स्थलबाट एउटा भिडियो सन्देश जारी गर्दै सुरवीरले माफी मागेका हुन् । आफूसँगै रामचन्द्रलाई पनि क्षमा दिन उनको आग्रह छ ।
सुरवीरको क्षमायाचना सन्देश यस्तो छः
आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा मेरो कोटी कोटी प्रणाम । केही दिन अगाडि मैले दुईवटा क्रिस्चियन गीत खेलेको थिएँ । हाम्रा अग्रजले भन्नुहुन्थ्यो, कलाकार बन्न चाहन्छौ भने तिमीले यो गर्दिनँ, त्यो गर्दिन भनेर भन्नु हुँदैन, जे अगाडि आउँछ त्यसलाई नै प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ । त्यही अनुसार अगाडि बढियो । क्रिस्चियन गीत गरियो, तर त्यसबाट धेरै गुरुबा, गुरुआमा, गुरु–पुरोहित, बुवाआमा, दाजुभाइ दिदीबहिनीले मन दुखाउनुभएको छ ।
हाम्रो उद्देश्य कसैको पनि मन दुखाउने थिएन । सिर्फ कलाकारिता गर्नु थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु । आउँदो दिनमा हजुरहरूको आशीर्वाद लिएर हजुरहरूले भनेजस्तै हाम्रो धर्मसंस्कार, संस्कृतिको जगेर्ना गर्दै देशले गर्व गर्न सक्ने काम गर्न सकुँ ।
हजुरहरूले मलाई आशीर्वाद दिनुहोला । काजी सा’ब (रामचन्द्र अधिकारी) पाँचथरमा सुटिङमा हुनुहुन्छ । उहाँलाई पनि क्षमा गरिदिनुहोला है हजुर । यो हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु होला हजुर । अब हामी यस्तो गर्दैनौँ । जस होस । धेरै धेरै धन्यवाद ।