काठमाडौं – मुलुकका ७ प्रदेशमध्ये विद्युत चुहावट (चोरी) मा कर्णाली प्रदेश अग्रस्थानमा रहेको छ भने मधेश प्रदेश दोस्रो स्थानमा छ । बागमती प्रदेशमा भने सबैभन्दा कम बिजुली चुहावट हुने गरेको पाइएको छ ।
नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको आव ०८०/८१ को तथ्यांक अनुसार, कर्णालीमा २१.७९ प्रतिशत विद्युत चुहावट भएको छ, जुन सबैभन्दा बढी हो । मधेश प्रदेशमा भने यो दर १५.२९ प्रतिशत छ ।
प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशमा ११.५० प्रतिशत बिजुली चुहावट भएको छ भने कोशी प्रदेशमा यो ९.८७ प्रतिशत रहेको छ । लुम्बिनीमा ८.५९ प्रतिशत, गण्डकीमा ७.६७ प्रतिशत र बागमतीमा ५.६० प्रतिशत बिजुली चुहावट हुने गरेको छ ।
आव ०७७/७८ मा मधेश प्रदेशमा विद्युत चुहावट १६.५४ प्रतिशत थियो । यो दर आव ०७८/७९ मा घटेर १४.१७ प्रतिशत र आव ०७९/८० मा १३.७९ प्रतिशतमा सीमित भएको थियो । तर, आव ०८०/८१ मा भने विद्युत चुहावट बढेर १५.२९ प्रतिशत पुगेको छ ।