काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छन् ।
राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको सरुआत त्रिभुवन विश्वविद्यालय (टियु)बाट गरिने बताइन् ।
‘शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो’, उनले भनिन् , ‘मेरो पहिलो प्रयास टियुको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु ।’ उनका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ ।
शिक्षा क्षेत्रमा भएका प्रगति र अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले चालु आर्थिक वर्षमा हालसम्म भएका कार्यविवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले शिक्षामा बजेट थप गर्नुपर्ने जनाउँदै जाजरकोट भूकम्पपीडित क्षेत्रका विद्यालय पुनःनिर्माण कार्ययोजना अगाडि सार्ने बताए।
बैठकमा सांसदहरू जगप्रसाद शर्मा, इन्दिरादेवी गौतम, राजेन्द्रलक्ष्मी गैरे लगायतले शिक्षाको स्तरोन्नतिको विषयमा सुझाव राखेका थिए । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राजनीतिकरणरहित सामुदायिक विद्यालय सञ्चालनमा रहेको उदाहरण प्रस्तुत गर्दै शिक्षाको गुणस्तर बढाउनुपर्नेमा जोड दिए।