काठमाडौँ – मोरङमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका ४ प्रगति टोलमा शुक्रबार विहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी पल्टिएको थियो । ट्रक पसलमा पल्टिदा किचिएर एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् ।
लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो । ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । दुर्घटनामा परी ज्योती गम्भीर घाइते छन् । ढुंगाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ ।
शुक्रबार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो । पल्टिएको लहरीमा लोड गरिएको ढुंगाले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको मोरङ प्रहरी ले बताएको हो । मृतकको शव निकाल्न प्रहरीलाई करिब ४ घण्टा लागेको थियो ।