काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ ।
गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो ।
सडक विभागका अनुसार, हाल प्राविधिक टोलीले उक्त स्थानमा सडकको ग्रेड मिलाउने तथा सतह सम्याउने कार्य गरिरहेको छ । नदीको कटान र सडक भासिएका कारण जोखिमपूर्ण बनेको यस खण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण र मर्मतलाई प्राथमिकतामा राखिएको छ ।
मौसम अनुकूल रहेमा आइतबार साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने विभागको तयारी छ ।


