काठमाडौँ । सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित १७ सर्वसाधारणको मृत्यु भएको छ । यार्मुक जिल्लामा भएको यस हमलामा २५ घर ध्वस्त भएका बीबीसीले जनाएकाे छ । एक दिनअघि सेनाका एक उच्च अधिकारीले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए । हालै आरएसएफले राजधानीको हतियार कारखाना भएको क्षेत्र यार्मुकको पूर्ण नियन्त्रण दाबी गरेको थियो ।
विगत दुई महिनादेखि देशभित्रै सेना र आरएसएफबीच भिडन्त चलिरहेको छ । यस लडाइमा एक हजारभन्दा बढी मानिस मारिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार सुडानभित्र २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने पाँच लाखभन्दा बढीले देश छोडेर छिमेकी मुलुकमा शरण लिएका छन् ।आरएसएफका अनुसार हालैका आक्रमणहरूले मेयो, यार्मुक र मन्डेला क्षेत्रका नागरिकहरूलाई लक्षित गरेका थिए । सेनाले हाल यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।