काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
‘नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य रोकेका छौं, अब स्टल बन्द भएको छ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।
एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ । नतिजा आउनु अगाडि नै मेला आयोजना गर्नु अनधिकृत भएकोले स्टल हटाएको महानगरको दाबी छ । कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका छन् । मेला ३ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यो मेलाको उदघाटन सभामुख देवराज घिमिरेले गरेका थिए ।