काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएका कांग्रेस–एमालेका हाई–प्रोफाइलको थुनछेक बहस जारी छ। मंगलबार सरकारी वकिलले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाले दसीप्रमाण नष्ट गर्ने दाबीसहित जेलमुक्त नगर्न सरकारलाई सुझाएका थिए।
बुधबारदेखि काठमाडौं जिल्ला अदालतमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीका तर्फबाट बहस भइरहेको छ । बिहीबार यो प्रकरणका प्रतिवादीका वकिलबाट उनीहरुको पक्षमा बहस भइसकेको छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा बहसपैरवी गरेका वकिलले उनले नक्कली शरणार्थी प्रकरणमा सुको पनि नखाएकाले निर्दोष रहेको दाबी गर्दै जेलबास नगराउन अपिल गरेका थिए ।
आज प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुँदै छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बहस गर्दै छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिएर लाखौँ ठगी गरेको अभियोगमा रायमाझीसहित ३१ जना संदिग्धको सूचीमा छन् भने हालसम्म १७ पक्राउ परेका छन् । अन्य फरार रहेका छन् ।