काठमाडौं । कोरोनाले थलिएको पर्यटन क्षेत्र उकासिने क्रममा देखिएको छ । यस वर्षको मे महिनाको पर्यटक आगमनमा झन्डै शतप्रतिशत सुधार देखिएको पर्यटन बोर्डले बताएको छ । मे महिनामा नेपालमा हवाई मार्गबाट ७७ हजार ७ सय ३ जना विदेशी पर्यटक भित्रिएका छन् । बोर्डका अनुसार सन् २०२३ को हालसम्म (जनवरी-मे) चार लाखभन्दा बढी विदेशी पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन् ।
जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३ र मे महिनामा ७७ हजार ७ सय ३ जना विदेशी पाहुना भित्रिएका छन् । सबैगरी ४ लाख ४ हजार २ सय ३१ जना विदेशी पाहुना अहिलेसम्म भित्रिएका छन् । सरकारले २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख पुर्याउने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो। अहिलेको आगमनले गति लिए यो लक्ष्य पूरा हुने देखिएको छ ।
मे महिनामा सबैभन्दा बढी पाहुना भारतबाट आएका छन् । ३६ हजार ५ सय ७५ जना भारतीय पाहुना मे महिनामा भित्रिएका छन् । त्यस्तै अमेरिकी पाहुनाको संख्या ८ हजार ५ सय ४५ छ । चीनका पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ । त्यस्तै बेलायतबाट भित्रिने २९ सय २७ रहेकाछन्।