काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेको १६ आरोपीसँग काठमाडौं जिल्ला अदालतमा बयान लिइरहेका बेला आज फरार थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली शरणार्थी प्रकरणका ३० आरोपीमध्ये हालसम्म १७ जना पक्राउ परेका हुन् ।
प्रहरीले उक्त प्रकरणमा फरार रहेकी लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो । प्रहरीले महर्जनलाई पक्राउ गरेर आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख थियो ।
नक्कली शरणार्थी धन्धामा ललितपुरकी ३२ वर्षीया महर्जनको बैंक खाता प्रयोग भएको प्रहरी छानबिनले देखाएको छ । नक्कली शरणार्थी प्रकरणका अभियुक्तसँग काठमाडौं जिल्ला अदालतमा आजबाट बयान लिन थालिएको छ ।