काठमाडौं । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडा पनि घटाइएको हो ।
प्रदेश भाडा निर्धारण/सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२)ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको हो। मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर कायम भएको उल्लेख गरेको छ ।
अन्तरप्रदेश भाडादर भने यसअघि नै घटिसकेको छ। जेठ ३ गतेदेखि यात्रुवाहक सवारीमा ३ दशमलव २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको मूल्य ४ दशमलव १९ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४ दशमलव ६५ प्रतिशतले घटेको छ ।