काठमाडौं । सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगर–१९ पुरनचौरका २१ वर्षीय मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवं भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाइफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।
उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जती हुनुका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरिएको हो । भुजेललाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिने म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।