काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा जिल्ला हुँदै सर्वोच्च अदालतबाट दोषी भई डिल्लीबजार कारागारबासमा रहेका रेशम चौधरी छिट्टै रिहा हुने बताउनु भएको छ ।
२०७२ भदौ ७ गते टिकापुरमा भएको घट्नामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गुमाएका थिए । थरुहट तथा थारुवान आन्दोलनकारीले प्रहरीसँगको झडप पछि घरेलु हतियार प्रयोग गरेर उनिहरुले ९ जनाको काटि काटि हत्या गरेका थिय । त्यहि नरसंहारका प्रतिवादी रेशमलाल चौधरीलाई सर्वोच्चले पनि सफाइ दिन अस्वीकार गर्यो र गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरिदियो ।
उक्त विषयलाई लिएर सरकारले आगामी १५ जेठको गणतन्त्रका दिन कैद माफीका रुपमा रेशमलाई कारागारमुक्त गर्ने संकेत प्रधानमन्त्री प्रचण्डले दिनुभएको छ ।
प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले रेशम चौधरी रिहाइ र लाल आयोगको प्रतिवेदन किन सार्वजनिक नगरिएको भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले रिहाइको ग्यारेन्टी दिनु भएको हो ।