काठमाडौँ । चितवनमा आफूलाई विशेष प्रहरी बताएर परिचयपत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका ८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका ५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका १३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् ।
उनीहरूलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको हो । उनीहरुले आफूहरु विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको छ । नक्कली परिचयपत्र भने भरतपुर महानगरपालिका १२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत खुमबहादुर थापाले बनाउने गरेको खुलेको छ। उनीहरूले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको पाइएको छ ।
पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिताको लिखत किर्तेसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । सो मुद्दामा सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।