काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘इन्फ्रास्ट्रक्चर समिट–२०२६’ लाई सम्बोधन गर्दै उनले आगामी लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधार पूरा गर्ने सरकारको तयारी रहेको जानकारी दिए ।
मन्त्री लम्सालका अनुसार यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई आमन्त्रण गरेर ठूला परियोजनाको सूची प्रस्तुत गर्ने र लगानी प्रतिबद्धता जुटाउनेमा मात्र सीमित हुनेछैन । लगानीको सुरक्षा, श्रमिकको संरक्षण र बजारको सुनिश्चिततासहित नेपालमा लगानी गर्न उपयुक्त वातावरण बनेको सन्देश दिनु सम्मेलनको मुख्य उद्देश्य हुनेछ ।
सरकारले स्वीकृति दिइसकेका परियोजना कुनै पक्षले अवरोध गर्न नसक्ने गरी लगानीको सुरक्षा सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्न लागेको उनले बताए ।
उनका अनुसार ५९ वटा ऐन संशोधनको मस्यौदा प्रधानमन्त्री कार्यालयमा बुझाइसकिएको छ । अब सम्बन्धित मन्त्रालय हुँदै कानुन मन्त्रालयमार्फत संशोधन प्रक्रिया अघि बढाइनेछ ।
ऐन संशोधनसँगै आवश्यक नियमावली, कार्यविधि, मापदण्ड र निर्देशिका पनि लगानी सम्मेलनअघि नै तयार गर्ने सरकारको लक्ष्य छ । तिहारलगत्तै कानुन संशोधनको औपचारिक प्रक्रिया सुरु गरी राजपत्रमा प्रकाशन गर्ने चरणमा पुर्याइने मन्त्री लम्सालले बताए ।



