काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश गम्भीर संकटमा रहेका बेला सरकारको प्राथमिकता प्रहरी महानिरीक्षक (आईजीपी) हटाउनेतर्फ केन्द्रित भएको भन्दै प्रश्न उठाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले १७ महिना कार्यकाल बाँकी रहँदै आईजीपीलाई हटाउनुपर्ने सरकारको बाध्यता के हो भन्दै प्रश्न गरेका हुन् ।
भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका कारण नागरिक पीडित रहेको, विस्थापित सुकुम्बासीको अवस्था दयनीय बनेको र महँगीले जनजीवन प्रभावित भइरहेका बेला सरकारको प्राथमिकता गलत दिशामा गएको उनको टिप्पणी छ ।
‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ?’ भन्दै उनले प्रहरी प्रमुखलाई कुन तथ्य र प्रमाणका आधारमा हटाउन खोजिएको हो भन्ने जवाफ सरकारसँग माग गरेका छन् ।
आङदेम्बेले आईजीपी हटाउने विषयमा सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ताको भनाइ बाझिएको उल्लेख गर्दै सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्नसमेत गरेका छन् ।
त्यस्तै, अनुसन्धानका लागि प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषय उठाउँदै उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशंका व्यक्त गरेका छन् । मोबाइल त्यहाँ किन पुग्यो र त्यसमा रहेको के मेटाउन खोजिएको थियो भन्ने प्रश्नसमेत उनले गरेका छन् ।
जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज जनजीवनको अपेक्षासहित सरकारलाई मत दिएको स्मरण गराउँदै उनले सत्ता शक्तिको दुरुपयोग गरी प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्न खोजिएको आरोप लगाएका छन् ।



