१९ कात्तिक, काठमाडौं । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको जोखिम बढ्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहरमैला नबाल्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगरपालिकाको वातावरण विभागका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उत्पन्न धुलो, उद्योग कलकारखानाको धुवाँ र खुला रूपमा प्लास्टिकजन्य फोहर जलाउँदा वायु प्रदूषण बढ्ने गरेको छ ।
वातावरण विभाग प्रमुख सरिता राईले प्रदूषण नियन्त्रणका लागि यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छन् ।
उनका अनुसार वायु प्रदूषणबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगी बढी जोखिममा पर्ने गरेका छन् ।
महानगरले सवारीसाधनलाई प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर सञ्चालन गर्न, नियमित मर्मतसम्भार गर्न तथा निर्माण सामग्री सडक र फुटपाथमा थुपार्न नदिन आग्रह गरेको छ ।
त्यस्तै, उद्योग, कलकारखाना तथा अस्पतालले महानगरको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ अनुसार वायु गुणस्तर र धुवाँसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने जनाएको छ । उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्नसमेत महानगरले आग्रह गरेको छ ।
महानगरले वायु प्रदूषण नियन्त्रणका लागि सरकारी निकाय, उद्योगी, व्यवसायी तथा सर्वसाधारण सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।



