काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल प्रि–कोप सम्मेलनमा सहभागी हुन फिजी जाने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनाल शनिबार फिजी प्रस्थान गर्ने तयारीमा छन्। यद्यपि मन्त्रालयले उनको भ्रमणबारे औपचारिक जानकारी भने सार्वजनिक गरिसकेको छैन।
नोभेम्बर ९ देखि टर्कीमा आयोजना हुने कोप–३१ सम्मेलनअघि त्यसको तयारी बैठकका रूपमा प्रि–कोप सम्मेलन फिजीमा आयोजना हुँदैछ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धिअन्तर्गत हुने कोप सम्मेलनको करिब एक महिनाअघि प्रि–कोप बैठक आयोजना गर्ने अभ्यास छ।
कोप सम्मेलनमा छलफल हुने प्रमुख एजेन्डा तथा जटिल विषयहरू प्रि–कोप बैठकमा छलफल गरी सहमतिको प्रयास गरिन्छ। जलवायु वित्त, हानि तथा क्षति, कार्बन उत्सर्जन न्यूनीकरणलगायत विषयमा प्रि–कोप बैठकमा छलफल हुने गरेको छ।
यसैबीच, नेपाल कोप–३१ का लागि तयारीमा जुटेको छ। सम्मेलनमा नेपालको नेतृत्व कसले गर्ने भन्ने अझै टुंगो लागेको छैन। टर्कीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाए पनि उनी जाने वा नजानेबारे निर्णय भइसकेको छैन।
गत भदौ १० गते नेपालमा आएको बाढी तथा पहिरोबाट ठूलो क्षति भएको भन्दै नेपालले कोप–३१ मा जलवायु परिवर्तनबाट हुने क्षति तथा क्षतिपूर्ति, जलवायु वित्त र कार्बन उत्सर्जन न्यूनीकरणका विषय उठाउने तयारी गरेको छ।
नेपालले हालै सम्पन्न संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा पनि जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको थियो।
परराष्ट्रमन्त्री खनालको फिजी भ्रमण तय
परराष्ट्रमन्त्री खनालको फिजी भ्रमण तय
तपाईको प्रतिक्रिया



