१४ असोज, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको शीघ्र पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले त्रिशूली र कालीगण्डकी करिडोरअन्तर्गत क्षतिग्रस्त विद्युत् प्रसारण प्रणालीको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले विद्युत् प्रसारण संरचनामा भएको क्षतिले उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको भन्दै आगामी हिउँदमा विद्युत् माग व्यवस्थापन थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन्। त्यसैले तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान गरी निर्माण तथा मर्मतलाई उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
घिसिङले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना बनाउँदै आवश्यक सहजीकरण तत्काल अघि बढाउन पनि सरकारलाई आग्रह गरेका छन्।
उनले बाढीपहिरोबाट भएको क्षति कुनै एउटा क्षेत्रको मात्र समस्या नभई नागरिकको जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र नेपालको विकाससँग जोडिएको गम्भीर चुनौती भएको उल्लेख गरेका छन्।
‘संकटको समयमा स–साना विषयमा अल्झिने होइन, देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन र क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ घिसिङले भनेका छन्।
बाढीले क्षतिग्रस्त ऊर्जा पूर्वाधार पुनर्निर्माणमा जोड : कुलमान
बाढीले क्षतिग्रस्त ऊर्जा पूर्वाधार पुनर्निर्माणमा जोड : कुलमान
तपाईको प्रतिक्रिया



