काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग तथा व्यवसाय विस्तारका लागि औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले उद्योगी–व्यवसायीसँग सरसल्लाह गरी उनीहरूले भोग्दै आएका समस्या पहिचान र समाधानमा ध्यान दिनुपर्ने बताइन्।
उनले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन्। पूर्वाधार निर्माणसँगै औद्योगिक तथा व्यावसायिक गतिविधि विस्तारमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो।
भण्डारीले आफूले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी पनि लुम्बिनीबाटै पाएको स्मरण गरिन्। अहिले वरिष्ठ नेताका रूपमा सोही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुसी लागेको उनले बताइन्।
‘मलाई पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्रदान गरिएको थियो,’ उनले भनिन्, ‘त्यतिबेला हामीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र खेलमैदानलगायतका पूर्वाधार बनाउनुपर्छ भनेका थियौँ। आज ती संरचना पूरा भएका छन्। अब उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरेर औद्योगिक क्षेत्रका समस्या समाधान गर्दै अघि बढ्नुपर्छ।’
लुम्बिनी क्षेत्र भौतिक पूर्वाधार विकाससँगै थप चर्चित बनेको उल्लेख गर्दै उनले यहाँको आर्थिक तथा औद्योगिक गतिविधिलाई पनि गति दिनुपर्नेमा जोड दिइन्।
एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गरेको थियो। वरिष्ठ नेतामा मनोनित भएपछि उपत्यका बाहिर उनको यो पहिलो भ्रमण हो। औपचारिक रूपमा वरिष्ठ नेताको जिम्मेवारी निर्वाह गर्ने प्रक्रिया भने टुंगो लागिनसकेको उनले बताएकी छन्।
लुम्बिनीसँग जोडियो उपाध्यक्षदेखि वरिष्ठ नेतासम्मको यात्रा : विद्यादेवी भण्डारी
लुम्बिनीसँग जोडियो उपाध्यक्षदेखि वरिष्ठ नेतासम्मको यात्रा : विद्यादेवी भण्डारी
तपाईको प्रतिक्रिया



