काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी–पहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको बताएका छन्।
सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढी–पहिरोका कारण जलविद्युत् प्रणालीमा ठूलो क्षति पुगेको बताए। प्रसारण, वितरण तथा उत्पादन संरचनामा क्षति हुँदा करिब १ हजार मेगावाट उत्पादन प्रभावित भएको उनको भनाइ छ।
उनका अनुसार पछिल्लो वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारणलाइन अवरुद्ध हुँदा १३ वटा आयोजनाबाट उत्पादन हुने करिब ३७० मेगावाट विद्युत् प्रभावित भएको छ।
मन्त्री श्रेष्ठले विद्युत् उत्पादनसँगै आवश्यक प्रसारण पूर्वाधार नहुँदा उत्पादित विद्युत् प्रवाहमा समेत समस्या देखिएको बताए।
हेटौंडा–ढल्केवर प्रसारणलाइन चार्ज भएपछि पूर्वको विद्युत् पश्चिम र पश्चिमको विद्युत् पूर्वतर्फ लैजान सहज हुने उनको भनाइ छ। यसले पूर्व–पश्चिम विद्युत् प्रसारणको समस्या समाधानमा सहयोग पुग्ने उनले बताए।
प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदै अपुग विद्युत् भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
बाढी–पहिरोले १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध : ऊर्जामन्त्री
बाढी–पहिरोले १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध : ऊर्जामन्त्री
तपाईको प्रतिक्रिया



