काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन वर्षैभरि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४४ जिल्लाका १९३ स्थानबाट सहुलियत पसल सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीका अनुसार चामल, दाल, खानेतेल, चिनी, गेडागुडी तथा रैथाने बालीलगायत वस्तुमा छुट दिइएको छ।
खाद्य कम्पनीका आउटलेटमा नेपाल फुड ब्रान्डका चामल, दाल र तेलमा प्रतिकेजी वा प्रतिलिटर ५ रुपैयाँ छुट उपलब्ध छ। यस कार्यक्रमका लागि सरकारले ३ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ।
यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा १३ र उपत्यकाबाहिर २५ गरी ३८ वटा निश्चित बिक्री केन्द्र तथा ३ वटा घुम्ती पसलमार्फत सहुलियतमा सामान बिक्री गरिरहेको छ।
साल्ट ट्रेडिङका अनुसार चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ र पिठोमा ७ रुपैयाँ छुट दिइएको छ। विभिन्न प्रकारका दाल तथा गेडागुडीमा समेत सहुलियत मूल्य कायम गरिएको छ।
बजारमा हुनसक्ने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्दै उपभोक्तालाई दैनिक आवश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालन गरिएको सरकारले जनाएको छ।
सहुलियत पसल वर्षैभरि, यी वस्तुमा पाइन्छ छुट
सहुलियत पसल वर्षैभरि, यी वस्तुमा पाइन्छ छुट
तपाईको प्रतिक्रिया



