काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले गृहमन्त्री सुदन गुरुङलाई नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी कसको मातहतमा रहेको भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले ट्राफिक प्रहरी र बस चालक अर्जुन लामा दोङबीच विवादपछि गम्भीर घाइते भएका चालक लामाको उपचारका क्रममा मृत्यु भएको घटनाबारे गृहमन्त्रीसँग प्रश्न गरेका हुन्।
उनले यसअघि काठमाडौंको त्रिपुरेश्वरमा महानगर प्रहरी र राइडरबीचको विवादपछि गणेश नेपालीको मृत्यु भएको घटनामा गृहमन्त्रीले महानगर प्रहरी आफ्नो मातहत नरहेको बताएको प्रसंगसमेत उठाए।
‘गणेश नेपालीले जीवन गुमाउँदा महानगर प्रहरी नेपाल सरकारको होइन, स्थानीय तहको हो भनियो,’ दुलालले भने, ‘आज म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु—नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? नेपाल प्रहरी चलाउने मन्त्री को हो?’
दुलालले त्रिपुरेश्वर घटनाले राज्य र सरकारप्रति नागरिकमा निराशा देखाएको बताए। उनले नियमनकारी निकायबाट श्रमिकप्रति मर्यादित व्यवहार हुनुपर्नेमा जोड दिँदै त्यस्ता निकायलाई मर्यादित बनाउन र आवश्यक काउन्सिलिङ गर्न सरकारसँग आग्रह गरे।
यस्तै, उनले ठूला सवारीको लाइसेन्स लिन २२ वर्ष उमेर पुगेको र साना सवारीको लाइसेन्स लिएको हुनुपर्ने व्यवस्थामा पुनर्विचार गर्न माग गरे। साना सवारीको लाइसेन्स नलिई ठूला सवारीको लाइसेन्स लिन नपाउने प्रावधान सच्याउनुपर्ने उनको भनाइ थियो।
सरकार नागरिकको संवेदना सुन्नेभन्दा ‘हेर्ने’ भूमिकामा सीमित भएको आरोप लगाउँदै दुलालले सरकार सञ्चालनमा राजनीतिक चरित्र र जिम्मेवारी देखाउनुपर्ने बताए।
‘ट्राफिक प्रहरी कसको हो?’ गृहमन्त्रीलाई युवराज दुलालको प्रश्न
‘ट्राफिक प्रहरी कसको हो?’ गृहमन्त्रीलाई युवराज दुलालको प्रश्न
तपाईको प्रतिक्रिया



