काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा’ ट्रफी टुर सम्पन्न गरेको छ।
नेपाली भलिबलको ऐतिहासिक सफलतालाई देशका विभिन्न स्थानका समर्थक र खेलप्रेमीसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको ट्रफी टुर अन्नपूर्ण आधार शिविरसम्म पुगेपछि सम्पन्न भएको हो।

‘एक्स्ट्रिम गौरवको यात्रा’ अन्तर्गत च्याम्पियन ट्रफी गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानमा पुर्याइएको थियो। अभियानमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली भलिबलको उत्साह, उपलब्धि र खेलाडीको यात्रालाई समर्थकसँग जोड्दै खेल संस्कृतिको प्रवर्द्धन गर्ने प्रयास गरेको जनाएको छ।
ट्रफीलाई खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले विभिन्न स्थानमा विशेष कार्यक्रम तथा भेटघाटसमेत आयोजना गरिएको थियो।
नेपाल भलिबल लिग नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिग हो। यसको पहिलो संस्करण २०८३ भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन भएको थियो।
प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससहित काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाडर्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए।

ऐतिहासिक फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो। अन्नपूर्णले २५–१५, २५–२० र २५–१८ को सेटमा जित हासिल गरेको थियो।
पहिलो एनभीएल उपाधिसँगै अन्नपूर्ण स्पाइकर किङ्सले २० लाख रुपैयाँ नगद पुरस्कारसमेत प्राप्त गरेको थियो।



