काठमाडौँ । नजिकिँदै गरेका विजया दशमी, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका विषयमा यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको संयुक्त बैठक बोलाएको छ।
चाडपर्वका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका भित्रिने यात्रुको चाप बढ्ने भएकाले यातायात सेवालाई सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बैठक आयोजना गर्न लागिएको विभागले जनाएको छ।
विभागका अनुसार बैठक सोमबार दिउँसो १ बजे मीनभवनस्थित यातायात व्यवस्था विभागको सभा हलमा हुनेछ। बैठकमा चाडपर्वको समयमा यात्रु आवागमन व्यवस्थापन, अग्रिम टिकट बुकिङ, भाडादर नियन्त्रण तथा सवारी साधनको अवस्थालगायतका विषयमा छलफल हुनेछ।
त्यस्तै, सडकको अवस्था, मर्मतसम्भार, ट्राफिक तथा सुरक्षा व्यवस्थापन र यात्रुलाई पर्न सक्ने सम्भावित समस्या न्यूनीकरणका विषयमा समेत बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने विभागले जनाएको छ।
चाडपर्वका समयमा यात्रुको अत्यधिक चाप हुने भएकाले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको विभागले जनाएको छ।
– चाडपर्वमा सहज यातायातका लागि विभागले बोलायो सरोकारवाला बैठक
– चाडपर्वमा सहज यातायातका लागि विभागले बोलायो सरोकारवाला बैठक
तपाईको प्रतिक्रिया



