काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार केहीबेरअघि छलफल सुरु भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्तरक्रियामा वर्तमान पुस्ताका प्राथमिकता, राज्य सञ्चालनमा प्रविधिको प्रयोग तथा युवासँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ।
बैठकमा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा तथा सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा गहन छलफल भइरहेको छ।
युवाको रोजगारी र उद्यमशीलतालाई कसरी प्रवर्द्धन गर्ने, सरकारी सेवा प्रवाहलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने तथा शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विषयलाई छलफलमा प्राथमिकता दिइएको जनाइएको छ।
त्यस्तै, प्रविधि र नवप्रवर्तनलाई राज्यको नीति तथा सेवा प्रवाहसँग जोड्ने विषयमा समेत सांसदहरूसँग सुझाव लिने र छलफल गर्ने तयारी गरिएको छ। संघीय संसद्को आधिकारिक विवरणअनुसार पनि सूचना प्रविधि, नवप्रवर्तन, शासकीय सुधार तथा सुशासन प्रवर्द्धन संसदीय छलफलका महत्वपूर्ण क्षेत्र हुन्।
प्रधानमन्त्री शाहले युवाको अपेक्षा र प्राथमिकतालाई नीति निर्माणसँग जोड्दै आगामी दिनमा राज्य सञ्चालनलाई थप आधुनिक, प्रविधिमैत्री र नागरिककेन्द्रित बनाउने विषयमा सांसदहरूसँग छलफल अघि बढाएका हुन्।



