काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सिंहदरबारमा सुरु भएको हो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, विपद् व्यवस्थापन तथा विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषय पनि बैठकको प्रमुख एजेन्डाका रूपमा रहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सरकार, राजनीतिक दल र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कसरी गर्ने भन्ने विषयमा समेत छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
विशेषगरी पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएको विपद्का कारण भएको जनधनको क्षति, प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउने विषयमा दलहरूबीच साझा धारणा बनाउने प्रयास हुने बताइएको छ ।
बैठकमा सहभागी दलका नेताहरूले विपद् व्यवस्थापनसँगै त्यसका दीर्घकालीन समाधानका उपाय, राज्यका निकायबीचको समन्वय तथा आवश्यक राजनीतिक संयन्त्र निर्माणबारे आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ ।
बैठकमा सरकारमा सहभागी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ । बैठकबाट विपद् व्यवस्थापन र राजनीतिक समन्वयका विषयमा साझा निष्कर्ष निकाल्ने प्रयास गरिने बताइएको छ ।



