काठमाडौँ । मंगलबार भदौ २३ गते जेन -जी आन्दोलनको वर्ष दिनमा जेन-जी दिवस मनाइयो । पुरानो संसद् भवन परिसरमा भएको कार्यक्रममा मन्त्री, सांसद, जेन -जी घाइते, सहिद परिवारदेखि लिएर सर्वसाधरणहरुको उपस्थिति थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री सुधन गुरुङ । कार्यक्रममा गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पुराना दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिएका थिए । आफूहरू राजनीति सिक्न नभएर सिकाउन आएको उनको अभिव्यक्ति थियो ।
उनले भनेका थिए, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ । म उहाँहरू सबैलाई भन्न चाहन्छु । त्यो दिन इतिहास हो । इतिहास कसैले फेरेर फेरिँदैन । इतिहास फेर्ने कोसिस नगर्नुस् । त्यो इतिहास थियो भन्ने साबित गर्नलाई तीन करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । यो आन्दोलनलाई अपमान गर्नु भनेको तीन करोड जताको अपमान हो, यो पनि स्मरण रहोस् । त्यही भएर तपाईंहरुलाई सुध्रिनुस् भन्न चाहन्छु । अझै पनि समय छ । सुध्रिनुस् ।’
उनले जेन-जीको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने बताए । गुरुङले भने, ‘सबै जेन-जी पुस्तालाई के भन्न चाहन्छु भने हाम्रो माग पुरा नहुन देशमा अब अर्को एउटा गोली चल्नुपर्छ, त्यो गोली मेरो शिरबाट मात्र हुन्छ । तपाईंको यो मन्त्री, यो दाई, भाइ, छोरा एउटै कुराले ढल्न सक्छ, त्यो कुरा हो, अर्को एउटा गोली । अर्को एउटा गोलीले मात्रै मलाई ढाल्न सक्छ । तर अर्को गोली चलाउन यो देशमा कसैको हिम्मत छैन । कसैले चलाउन हिम्मत गर्न सक्दैन ।’
‘हामीलाई विभिन्न लाञ्छना लगाउनुहुन्छ । कसैले हाम्रो भाषण मिलेन भन्छ । कसैले लुगा मिलेन भन्छ । योभन्दा बढी ह्यान्डसम हामी देखिन सक्दैनौँ, सरी । यो हाम्रो जेनेरेसन हो ।’
‘वि आर हियर टु टिच पोलिटिक्स । हामी राजनीति सिक्न आएको होइन सिकाउन आएको हो । तपाईंको राजनीतिले जनतालाई राज गर्न सिकायो, हामी सेवा गर्न सिकाउँछौँ । वि केम हियर टु चेन्ज ट्रेडिसन । टीका लगाएर आएको होइन हामी । चुनाव जितेर, दुई तिहाइको बहुमत ल्याएको सरकार हो, चेतना भया । यु मेस्ड विथ द रङ जेनेरेसन ।’
‘पत्रकार मित्रहरूलाई पनि सन्देश दिन चाहन्छु । तपाईँहरूले धेरै काम गर्नुभएको छ, सम्मान छ । तर ३/४ जना छन् नि । तपाईँहरूको पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस् भन्न चाहन्छु ।’
गुरुङको यो भाषणलाई लिएर रास्वपा नेताहरूले नै असन्तुष्टि जनाएका छन् । रास्वपाकै संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सुध्रिनु अरूले मात्रै पर्ने हो भन्दै प्रश्न गरेकी छिन् । उनी लेख्छिन्, सुध्रिनु अरूले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने रु यही दिन देख्नलाई थियो महान् शहीदहरूको बलिदान रु
धितालले पोहोर साल आफूहरूले नै प्रेस स्वतन्त्र होस्, सत्ता निरङ्कुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको स्मरण गरेकी छन् ।
‘हामीले राज्यलाई प्रश्न गरेका थियौँ, सत्तालाई विनम्र हुन भनेका थियौँ,’ उनी लेख्छिन्, ‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ? के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ ?’
रास्वपाका महामन्त्री विपीन आचार्यले पनि गृहमन्त्री लक्षित अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’
त्यस्तै रास्वपा सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले लेखेको स्ट्याटस चर्चामा छ । हिजो साँझ उनले फेसबुकमा लेखेका छन्, श्रव्य-कर्कस
दृश्य-बिझाउने बदल्छौँ’ भन्नेहरू नै बदलिँदै त छैनौँ ?
उनीहरूको यो स्ट्याटस गृहमन्त्री गुरुङले गरेको भाषणमा लक्षित नै देखिन्छ ।


