काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुंगा सडक ठाउँ ठाउँमा भासिएको छ। जसले गर्दा सवारी साधन सञ्चालन अवरूद्ध भइरहेको छ।
भदौ १० र त्यसपछिका भोटेकोशी-त्रिशूली बाढीले पृथ्वी राजमार्गको धादिङस्थित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानपछि भासिएको कृष्णभिर सडक खुलाउन कम्तीमा १५ दिन लाग्ने भएको छ।
धादिङकै मलेखुनजिकै परेवा भिरमा पनि सडक भासिएको छ। त्रिशूली नदीले कटान गरेपछि सडक भासिएको हो। यहाँ मंगलबार भासिएकोभन्दा माथिल्लो क्षेत्र कटान गरी सडक बनाए पनि सडक थप भासिएर जोखिममा पारेको छ।
साथै धादिङकै जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन सुरू गरेको छ। त्रिशूलीको बाढीले सडकको टेवा पर्खालमा क्षति पुर्याएपछि सडक एकतर्फी गरिएको थियो।
नदीले सडकको तल्लो भागबाट तीब्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन थालेको छ।
नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्याउन थालेपछि राजमार्गको उक्त खण्ड जोखिममा परेको सडक विभागले जनाएको छ।


