काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा आज अपराह्नपछि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।
विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मौसम मापन केन्द्रमा ६०.२ मिलीमिटर मापन भएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
विभागले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ । हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


