काठमाडौँ । सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।
‘सम्माननीय अध्यक्षज्यूमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने ।
नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् ।
धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् ।
नेकपाका सांसद सुरेशकुमार आलेमगरले विश्वका धनी र सम्पन्न मुलुकहरूले सिर्जना गरेको भूमण्डलीय वाष्पीकरण र जलवायु परिवर्तनका कारण यस्ता बेमौसमी प्राकृतिक प्रकोपका घटनाहरू हुने बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।


